काठमाडौं - प्रहरीले अमेरिका पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिसँग गरी दुई करोड बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं-८ गुह्रेश्वरी पञ्चकन्या मार्गमा बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो । तामाङले दुई करोड २६ लाख २३ हजार रुपैयाँ ठगी गरेको देखिएको छ।
अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने आश्वासन देखाएर धेरै नेपालीलाई अन्यत्र देशमा लगेर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्य गर्ने गरेको आरोपमा ब्यूरोले तामाङलाई पक्राउ गरेको हो।
उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको खुलेको छ।
तामाङमाथी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ।

0 comment