काठमाडौं - सप्तरीको महादेवा गाउँपालिकामा एक युवकले लाठी र फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
महादेवा गाउँपालिका–२ अकवरपुरका ३५ वर्षीय रामरुप खंगको प्रहारले उनकी ३० वर्षीया श्रीमती पावर्तीदेवी खंगको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । खंगको आक्रमणबाट उनका बुवा र आमा समेत घाइते भएका छन् ।
लागुऔषध सेवनकर्ता खंग घरबाट १६ हजार रुपैयाँ लिएर बाहिरिन खोज्दा घरपरिवारले रोकेका थिए । सोही क्रममा खंगले परिवारका सबै सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएको स्थानीयले बताए । क्षणिक आवेशले श्रीमती चितामा,आमा अस्पतालमा र युवक थुनामा पुगेको खंगले बताए ।
श्रीमतीको हत्या गरेर भागेका उनलाई गाउँलेहरूले समातेर प्रहरीलाई बुझाएका छन् । खंगविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही गरिने तयारी भइरहेको छ ।
गम्भीर अवस्थामा रहेकी आरोपितकी आमा ६२ वर्षीया सन्तोलियादेवी खंगको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । आइसीयूमा उपचाररत उनको टाउको फुटेर अत्यधिक मात्रामा रगत बगेकाले रगतको निकै कमी भएको चिकित्सकले बताएका छन् ।

0 comment