सिन्धुपाल्चोक - जिल्लाको बलेफी गाउँपालिका - २ जलबिरेस्थित जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा चरम लापरवाही देखिएको छ । 

सरकारले स्वास्थ्य केन्द्रको लागी दुईजना डाक्टर नियुक्त गरेको छ । तर चाहिएको बेलामा एकजना पनि भेटिँदैनन् । डाक्टरहरु कहाँ जान्छन् कसैलाई थाहा हुँदैन । लापरवाही यतिसम्म छ कि ल्याबमा काम गर्ने टेक्निसियन पनि भेटिँदैनन् । स्वास्थ्य केन्द्रले एउटा सामान्य क्लिनिक या मेडिकलको जती पनि सेवा दिन सक्दैन । स्वास्थ्य केन्द्रले निर्वाध रुपमा सेवा दिए गरिब जनता अनाहकमा मर्ने थिएनन् 

जिल्लाको बिकट गाउँ मध्यको एक जुगल गाउँपालिकाका लागी यो स्वास्थ्य केन्द्र बाहेक अरु कुनै विकल्प छैन । पुर्व सभामुख अग्नि प्रसाद सापकोटाको घरबाट ५ किलो मिटर दुरिमा रहेको यो स्वास्थ्य केन्द्रले जिल्लाको ठुलो भुभागको गरीब तथा निमुखा जनतालाई सेवा दिनुपर्ने हो । तर स्थानीयहरुले पटक-पटक हार गुहार गर्दा पनि स्थानीय सरकारले अहिलेसम्म समस्याको समाधान गर्नेतर्फ चासो दिएको छैन । 

पैसा हुनेहरुले आफ्ना बिरामी धुलिखेल अस्पताल लान्छन्, नहुनेले वीर हस्पिटल वा गाउँमै रहेको मेडिकलमा उपचार गराउँछन् ।

समस्या के हो भनेर स्वास्थ्य केन्द्रको डाक्टरलाई फोन गर्दा एक जना डाक्टरले ल्यावको सामान लिन बाहिर गएको छु । अब भोली मात्र आउँछु भन्ने जवाफ दिए भने अर्को डाक्टरलाई धेरै पटक कल गर्दा पनि फोन उठेन । वडाका अध्यक्षको पनि फोन उठेन ।