काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएकोले अहिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

पोखरेलले भने, २०८०÷०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएकोले अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठक सकिएपछि वेबसाइटमार्फत् सार्वजनिक गर्नेछौं । ३ बजे मौद्रिक नीतिबारे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

राष्ट्र बैंकले पनि अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न उचित निर्णय लिने भनेको छ । अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षामा छन् । तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ । अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त बनेका छन् । यसले व्यवसाय सञ्चालनलाई निरन्तरता दिन कठिन भएकाले यसको खारेजीको माग गर्दै आएका छन् । तर, चालु पुँजी कर्जाको व्यवस्था कायम रहनेमा राष्ट्र बैंक स्पष्ट छ ।

बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायतका क्षेत्रका करिब ५० संघ–संगठन, विज्ञ तथा सरोकारवालाले मौद्रिक नीतिमा सुझाव दिएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरूलाई  आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी नीति ल्याउन भनेका छन् ।