काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै छ । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली एवं एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति भने अझै तय भएको छैन ।

सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो । यसैबीच शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु काठमाडौं आइपुगेका छन् । युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो । नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने छन् ।  

पछिल्लो समय सीपीसी र माओवादी केन्द्रबीचको सम्बन्धमा बढोत्तरी भएको देखिन्छ । केही समयअघि सीपीसीको निमन्त्रणामा पूर्वसभामुखसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमण गरेका थिए । त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरूको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

भ्रमण तयारीका लागि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन् । यसबीचमा परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासले पनि प्रधानमन्त्री दाहालको भ्रमणबारे आवश्यक तयारी गरिरहेको स्रोतको भनाइ छ ।