काठमाडौं - दोलखाका सबै क्रसर उद्योगहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन्।
सरकारको तोकेको मापदण्ड नपुगेका र दर्ता नभएका कसर उद्योगहरु बन्द गर्ने निर्णयविरूद्ध दोलखाका क्रसर व्यवसायीहरूले जिल्लाका सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय गरेका हुन्।
जिल्ला अनुगमन तथा समन्वय समिति दोलखाले सरकारले तोकेको मापदण्ड नपुगेका र दर्ता नभएका क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेलगत्तै विज्ञप्ति जारी गर्दै दोलखा जिल्ला क्रसर व्यवसायी संघका संयोजक सन्तोष मैनालीले जिल्लाका सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
जिल्लाभरका क्रसर उद्योगहरु सरकारको मापदण्डमा नपर्ने र अन्य ठाउँमा स्थानान्तरण गरि सञ्चालन गर्न पनि भौगोलिक अवस्थाका कारण मापदण्ड पुर्याउन नसकिने भएकाले क्रसर उद्योगहरु अनिश्चितकालका लागि बन्द गरिएको विज्ञप्तिमा भनिएको छ।
दोलखामा भीमेश्वर गिट्टी बालुवा वासिङ उद्योग, मलेपु रोडा ढुंगा उद्योग प्रालि, दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लार्यस प्रालि, दोलखा श्रीएकता रोडा ढुंगा उद्योग प्रालि, एस.के.रोडा ढुंगा उद्योग, साङवा खोला क्रसर उद्योग, मिलिजुली क्रसर उद्योग, भीमेश्वर क्रसर इन्डष्ट्रिज र गुमु खोला क्रसर उद्योग सञ्चालमा छन्।
यसखघि समितिले तामाकोशी नदी र आसपासका खोलाहरूबाट असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि कुनैपनि प्रकारका नदीजन्य वस्तु उत्खननमा रोक लगाएको थियो। तामाकोशी नदीमा अत्यधिक उत्खनन् भई संकटको अवस्था आइसकेको कारण ढुङ्गा, बालुवा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पूर्ण रूपमा ३ महिनाका लागि रोक लगाइएको समितिका प्रमुख वर्जुराम घतानीले जानकारी दिएका थिए। असोजपछि पनि वातावरणीय प्रभाव मूल्यांकनले उचित ठहर्याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने निर्णय भएको थियो।
दोलखामा सञ्चालनमा रहेका क्रसर उद्योगहरु कुनै पनि मापदण्ड अनुसार दर्ता र नविकरण नभएको पाइएको र ति क्रसर उद्योगहरु सञ्चालन गरेको पाइए अनुगमनको क्रममा कारवाही गर्ने समन्वय समितिले जनाएको थियो।

0 comment