काठमाडौं - सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठुलो परिणाममा सालको गोलिया काठ बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले मेचीनगर नगरपालिका– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट शुक्रबार मध्यराती १२ बजे अन्दाजी ७०० सय क्युफिट सालको गोलिया काठ बरामद गरेको हो। 

कृष्णथुम्की नजिकैबाट ठुलो परिणाममा सालको काठ चोरी तस्करी भइरहेको सूचना पाए लगतै अर्याल नेतृत्वको टोली त्यहाँ पुगेको र प्रहरीलाई देख्नेबित्तिकै तस्कर समूह काठ लोड भएको ट्याक्टर छाडेर भागेको एसपी अर्यालले बताए। उनले भने, ‘घटनास्थल पुग्दा एउटा जंगल पूरै फडानी गरी काठ लगिरहेको अवस्थामा फेला पर्‍यो।’

टोलीले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एक ट्याक्टर काठ फेला परेको एसपी अर्यालले बताए। कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको उनले बताए। एसपी अर्यालले अहिलेसम्म यस्तो काठ तस्करी नदेखेको बताए।

उनले भने, ‘कृष्णथुम्की मन्दिर पछाडि तस्कर समूहले साना–ठुला सबै रुख काटिसकेको रहेछ। एकै रातमा त्यहाँ घाटगद्दी गरी राखिएको गोलिया काठ गन्तव्यतर्फ पुर्‍याउने तस्कर समूहको योजना थियो। उनीहरूको त्यो योजना सफल हुन पाएन।’ 

घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेको र नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए। 

यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार सशस्त्रले बरामद गरेको काठको विषयमा अनुसन्धान भइरहेको बताए। अनुसन्धान सकिएपछि घटनाको यथार्थ बाहिर ल्याउने उनको भनाई छ।  

व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वनको अनुमति बेगर काट्न पाइँदैन।