काठमाडौं - करिब १०० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् ।
प्रकरणमा भन्सार कार्यालयको एक्स-रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल निलम्बनमा परेका थिए।
तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। भन्सारका अनुसार ब्रेक शु आउँदा एक्सरे मेसिनबाट सामान चेक जाँच गर्ने ड्युटीमा रहेका श्रेष्ठले शंकास्पद सामान आएको जानकारी पाउँदा समेत थप प्रक्रिया अगाडि नबढाएको देखिएको छ।
विमानस्थलको बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा प्रहरीको उपस्थिति रहँदैन। प्रकरणमा भन्सारका कर्मचारीको संलग्नताबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभाग र प्रहरीले जनाएको छ ।
सुन प्रकरणमा भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ। भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो।
प्रकरणका कारण विमानस्थल र भन्सारको कडा सुरक्षा घेरा पार गरेर त्यति ठूलो परिमाणको सुन कसरी बाहिरियो भन्ने गम्भीर प्रश्न उठेको छ।

0 comment