काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ। 

गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको धातु भन्सार कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका एक अधिकारीका अनुसार थाई नागरिकले बोकेको हाते झोलाबाट १० थान बिस्कुट आकारको पहेंलो धातु फेला पारिएको हो। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।

थाई नागरिकले भने उक्त धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन्।