काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो कुनैपनी संलग्नता नभएको बताएका छन् । व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनी बताएका छन् । 

त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्ट पारेका हुन । सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनले दावी गरेका छन् । 

मल्होत्राले भने, “सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु ।” म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ । काम विशेषले कहिलेकाही विदेश जानेगर्छु, । दोषी ठहर गरे नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले बताएका छन् । 

मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरेका छन् । उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने आशंका गरेका छन् ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास गरेर सिनामंगल पुग्न लागेको अवैध सुन  बरामद भएको थियो । बुधबार चेकजाँचबाट पुष्टि भएपछि मात्र सार्वजनिक गरिएको थियो । विभागको टोलीले भन्सार कार्यालयको गेट अगाडिबाट सुन बरामद गरेको थियो । जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ ।