काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपोको शिलान्यास भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त इन्धन डिपोको शिलान्यास गरेका हुन्। विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले विमानस्थल परिसरभित्रै १२ सय किलोलिटर क्षमताका तीन वटा नयाँ भण्डारणगृह निर्माण गर्न लागेको हो।
हालको भण्डारण क्षमता न्यून रहेको र विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू पनि सञ्चालन गर्ने तयारी भएकाले त्यसबाट हुने मागलाई सहज बनाउन निगमले नयाँ डिपो बनाउन लागेको जनाएको छ।
उक्त भण्डारणगृह निर्माण गर्न समानान्तर रेलिगेर ट्यांकर्स जेभीसँग ७७ करोड रुपैयाँमा ईपीसी ठेक्का सम्झौता भइसकेको छ। निर्माण कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने र भण्डारगृहको संचिती क्षमता एक महिनालाई पुग्ने जनाईएको छ।


0 comment