काठमाडौं – सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर घटेको छ । स्वचालित प्रणालीमा डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजलमा ४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधानमा २.१३ प्रतिशत,मालवहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ ।

सार्वजनिक यातायातको भाडा समायोन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ । सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो, ’विभागले जारी गरेको सूचनामा भनिएको छ ।