काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गरेका हुन्। पदबाहालीपछि उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उनको भनाइ छ।
उनले भने, 'प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो। सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्याउन सकिन्छ। सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं।'
उनले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायापालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताए।
उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए। उनले न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए।


0 comment