काठमाडौं - सरकारले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चौधरीको बाँकी कैद सजाय मिनाहका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्। यसअघि राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव फिर्ता गरेका थिए।

मन्त्री शर्माले सरकारले गणतन्त्र दिवस २०८० का अवसरमा चौधरीको बाँकी सजाय मिनाहसँगैआममाफी दिन सिफारिस गरिएको बताइन्। यस्तै बैठकले चौधरीसँगै केही कैदीको बाँकी सजाय मिनाह र केहीको सजाय माफी गर्ने निर्णय गरेको छ।

सरकारले गरेको सिफारिस राष्ट्रपति कार्यालयले कार्यान्वयन गरे चौधरी भोलि गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन्।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।

उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा, सीमा, लगायतका विषयमा छलफल भएको र सोमबारको मन्त्रीपरिषद् बैठकले थप निर्णय गर्ने उनले जानकारी दिइन्।

त्यस्तै सरकारले भारतमा हुने विमेस्टेक व्यापारसम्बन्धी सम्मेलनमा भाग लिन उद्योग मन्त्रीको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताइन्। बैठकले बिमेस्टकको भविष्यको कार्यदिशाका लागि प्रवुद्ध व्यक्तिहरुको समूहमा नेपालको तर्फबाट पूर्व परराष्ट्रसचिव दुर्गा भट्टराई मनोनयन गरि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै सरकारले केन्यामा आयोजना हुने राष्ट्रसंघको एक कार्यक्रममा सहभागी जनाउन शहरी विकासमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको उनले बताइन्।