काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेको बताएका छन्। 

शनिबार प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम् सहिद कृष्णसेन `इच्छुक´को २१ ओैं स्मृति दिवसलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले भ्रष्टाचार र वेथितिविरुद्धको आन्दोलनमा सबैले साथ दिने दाबी गरेका छन्।

‘१० वर्षे जनयुद्धमा जसरी हाम फालेका थियौँ त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध हाम फालिसकेका छौं। हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। अहिले पनि हामी संकल्पका साथ लागेको छौं।’ उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौं करोडौं जनताको साथ पाएका थियौँ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं।’ 

उनले केहि समय भित्रै ठूला ठूला एक्सन हुने बताए। प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने धारणा राखे। ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ। यो कम्युनिष्टको सभा रहेनछ। बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ’ उनले भने। नेतृत्त्व तहबाट फेरि नयाँ अभियान थालनी भएको उनको भनाई छ। उनले माओवादीलाई अवसर र चुनौती दुवै भएको बताए। 
 
उनले माओवादी नेतृत्वमा बसेको दिनदेखि अपमानित र घेराबन्दी गर्ने कसरत भइरहेको दाबी गरे। उनले सहिदका सपना पूरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको धारणा राखे।