काठमाडौं - नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कार्कीले अहिले बजारमा अधिक तरलता भए पनि भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका हुन् । उनले हकप्रद सेयर जारी गरेर लगानीकर्तालाई तुरुन्त पैसा हाल्न लगाउने उद्देश्य नभई संस्थाले कमाएको आधारमा बोनस सेयरमार्फत पुँजी वृद्धि गर्दै लैजाने योजना रहेको स्पष्ट पारे । २०७५ सालमा ऐन संशोधन हुँदा ३ अर्ब रहेको व्यवस्थामा हाल करिब ६ अर्ब पुँजी पुगिसकेको तर ऐनमा पुरानै व्यवस्था रहेकाले अधिकृत पुँजीको सीमा १० अर्ब पु¥याउन खोजिएको उनले बताए । उनले कोषले स्पष्ट लगानी नीतिअनुसार लगानीको क्षेत्र, सीमा र प्रक्रिया तय गरिएको तथा जोखिम विश्लेषण गरेर मात्र लगानी गरिने उल्लेख गरे ।
कार्यकारी निर्देशक कार्कीले लगानीकर्ताको पैसाको सुरक्षा र प्रतिफल अर्थतन्त्र तथा समयसापेक्ष हुने उल्लेख गर्दै संकलन गरिएको रकमबाट प्राप्त प्रतिफलमा व्यवस्थापन शुल्क कटाएर बाँकी रकम लगानीकर्तालाई नै फिर्ता गरिने जानकारी दिए । कतिपय समयमा निश्चित प्रतिफलका साथै क्षमता अनुकूल अतिरिक्त लाभ समेत दिने गरिएको उनले बताए।


0 comment