काठमाडौं - अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास तथा अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले विशेष विद्यालय भवन निर्माण गर्ने भएको छ।
महानगरपालिकाले वडा नम्बर २९ मा निर्माण गर्न लागेको पाँचतले विशेष विद्यालय भवनको बुधबार शिलान्यास गरिएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन्।
शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै डंगोलले अटिजम वा शारीरिक अशक्तताका कारण कुनै पनि बालबालिका शिक्षा तथा अन्य आधारभूत अधिकारबाट वञ्चित हुन नहुने बताइन्। प्रत्येक बालबालिकाले अरूसरह समान रूपमा पढ्न र आफ्ना अधिकार उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो।
काठमाडौंमा अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकलाई आवश्यक सहयोग तथा सेवाको माग बढ्दै गएकाले निर्माण हुन लागेको भवन बहुउपयोगी हुने उनले विश्वास व्यक्त गरिन्। उनका अनुसार भवनलाई अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने केन्द्रका रूपमा उपयोग गरिनेछ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले डिजाइन गरेको भवन वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुनेछ। ४५०.८० वर्गमिटर क्षेत्रफलमा बन्ने भवन पाँचतले हुनेछ। भवनको उचाइ १७ मिटर रहनेछ भने प्रत्येक तलाको क्षेत्रफल तीन हजार वर्गफिट हुनेछ।
महानगरपालिकाले उक्त भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरेको छ। भवन शिलान्यास कार्यक्रममा वडा नम्बर २९ का अध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो।


0 comment