काठमाडौं - दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शन लगायतका कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महा अभियानले विरोध प्रदर्शन लगायतका कार्यक्रम फिर्ता लिएको हो ।
वार्तामा महा अभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ । महाभियानले मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ। वार्तामा महा
अभियानका तर्फबाट सचिव प्रेम दीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाई हुनुहुन्थ्यो। सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजय भद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायतको उपस्थिति थियो।
वार्ता प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको हो। अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।


0 comment