काठमाडौं —चन्द्रागिरि नगरपालिका वडा नं १२ आफ्नो वडा क्षेत्रभित्रका उद्योग कारखाना होटेलहरुमा बालश्रम अनुगमन गरेको छ । वडाले बाल विकास समाज वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा अनुगमन गरेको हो । वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने प्रक्रियामा रहेकोले वडा क्षेत्रमा सञ्चालित कारखाना होटेल उद्योगहरुमा बालश्रम प्रयोग भए नभएको बारेमा अनुगमन गरिएको वडाका वडास्तरीय बालअधिकार समिति संयोजकले बताउनु भयो । बालश्रम मुक्त वडा घोषणाका लागि २० वडा सूचक पूरा गर्नुपर्ने र सोही सूचकमा वडाले तिव्र रुपमा काम गरिरहेको वडा सचिव सजिता मुडभरीले बताउनु भयो । वडालाई बालश्रम मुक्त बनाउने अभियान विगतदेखि नै सञ्चालन गरिएको भए तापनि अहिले घोषणा गर्ने प्रक्रियामा जान सकिएको समितिका पदाधिकारहरुको भनाइ थियो ।

 चन्द्र्रागिरि नगरपालिकामा रहेका १५ वटा वडामा अब १२ नं. एउटा वडा मात्र बालश्रम मुक्त घोषणा गर्न बाकी रहेको अरु सबै वडाहरु बालश्रम मुक्त घोषणा भइसकेका छन । सबै वडा घोषणा भइसकेपछि नगरलाई नै बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रम चाडै गर्ने योजना रहेको चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख बसन्ती श्रेष्ठले विशाल नेपाल अनलाइन न्युजलाई बताउनु भयो । चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त नगरको रुपमा अगाडी बढाउनका लागि विगतदेखि नै बाल विकास समाज तथा वल्र्डभिजन इन्टरनेसनल नेपालले सहयोग गरिरहेको संस्थाका सिनियर फिल्ड अधिकृत दिपेन्द्र पराजुलीले बताउनु भयो । अहिलेसम्म देशभरका ११ वटा पालिकाहरु बालश्रम मुक्त पालिका घोषणा भइसकेका छन ।