काठमाडौं - बारामा आज मध्यान्ह १२:३० बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यु आदेश लागु गरिएको छ। नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजेडी समूहद्वारा गरिएको प्रदर्शनपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) अनुसार जीतपुर सिमरा उपमहानगरपालिका भित्र चारकिल्ला क्षेत्र निर्धारण गरी कर्फ्यु लगाइएको हो।
कर्फ्यु क्षेत्रअन्तर्गत गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटर, तथा सिमरा विमानस्थल वरपर ५ सय मिटर भित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण निषेध गरिएको प्रशासक मिश्रले जानकारी दिएका छन्।
कर्फ्यु आदेश जारी हुनुको मूल कारण भनेको हालै बढ्दो प्रदर्शनका कारण सम्भावित अशान्ति र सुरक्षा जोखिम नियन्त्रण गर्नु रहेको प्रशासनले जनाएको छ।
सिमरा विमानस्थलमा एमाले नेता शंकर पोखरेल र महेश बस्नेतलाई स्वागत गर्न पुगेका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि विमानस्थल बन्द गरिएको छ।
विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार बुधबार बिहान ११ बजे बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत दुई नेता सिमरा अवतरण गर्ने कार्यक्रम थियो। तर मूल प्रवेशद्वार नजिकै रहेका क्यान्टिन आसपासमा दुई समूहबीच बोतल हानाहान सहितको झडप भएपछि सुरक्षा परिस्थिति असामान्य बनेको अधिकारीले जानकारी दिए।
‘झडपका कारण सुरक्षा अवस्था बिग्रिएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो। काठमाडौँबाट आजका उडान रोकिएका छन् र दुवै नेताको सिमरा उडान पनि रद्द भएको सुनेका छौँ,’ उनले भने।
सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक १० वटा दुईतर्फी उडान गर्दै आएको छ। यहाँबाट दैनिक करिब ७ सय यात्रु काठमाडौँ, वीरगन्ज र सिमरा ओहोरदोहोर गर्ने गर्छन्।


0 comment