काठमाडौं - दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”

उनले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।

त्यसैगरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।

बीपी राजमार्ग १३ र १४ गते राति बन्द हुने

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज र भोलि दुई दिन रातिमा बन्द गरेको छ। साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।

सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले  सवारी साधन र यात्रुहरूलाईसम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि सो निर्णय गरिएको जनाएको छ। सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ।