काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रा. लि. बीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता वृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।
हालै भएको सम्झौताअनुसार पाँचवटा १० दिने आईटी तालिम कार्यशालाहरू र तीन महिनाको विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। यी कार्यक्रमहरूले युवालाई सूचना प्रविधि क्षेत्रमा सीपयुक्त बनाउँदै रोजगारीमुखी अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख उपेन्द्र कार्कीले युवाशक्ति नै भविष्यको आधार भएको उल्लेख गर्दै आईटीसँग जोडेर युवालाई रोजगारीमुखी बनाउने र अवसरहरू आफ्नै नगरपालिकामै ल्याउने लक्ष्य रहेको बताए। उनका अनुसार, नगरपालिका डिजिटल रूपान्तरणको दिशामा दृढतापूर्वक अघि बढिरहेको छ।
यसैक्रममा नगरपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै नगरप्रमुख कार्कीको पहलमा नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग एक प्रभावकारी बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नगरपालिकाको डिजिटल आधुनिकीकरण, स्थानीय युवाका लागि रोजगारी सिर्जना तथा द्विपक्षीय सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा सहभागी सरोकारवालाहरूले नगरप्रमुख कार्कीको सक्रिय नेतृत्व र नवीन सोचले कागेश्वरी मनोहरा नगरपालिकालाई प्रविधिमुखी र भविष्य–उन्मुख बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको टिप्पणी गरेका छन्।
यस ऐतिहासिक संवाद र पहलको सफलतामा उल्लेखनीय योगदान पुर्याएका जेनेस सोलुसनका सीईओ अञ्जनी फुयाँलप्रति नगरपरिवारले हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ।


0 comment