काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार तेस्रो पटक विस्तार भएको छ ।नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री पदमा शपथ गराएका हुन् ।

प्रधानमन्त्री कार्कीले आइतबार चार जनाको नाम मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेकी थिइन् । तर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाममा विवाद आएपछि नाम काटियो । यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । उनका निकट स्रोतका अनुसार ‘अब यही टिमले निर्वाचनसम्म सरकारको जिम्मेवारी सम्हाल्ने’ तयारी छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा सोही मन्त्रालयकी पूर्व सचिव हुन् । झण्डै १४ वर्षअघि मन्त्रालयमै रहेर मन्त्रीहरूसँग वैचारिक मतभेदका कारण उनले राजीनामा दिएकी थिइन् । त्यसपछि उनले राष्ट्रसंघीय निकायहरूमा पनि काम गरेकी थिइन् ।

युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता सामाजिक अभियन्ता हुन् । कोरोना महामारीका बेला उनले निःशुल्क खाना वितरणदेखि ‘कपडा बैंक’ अभियानमार्फत् राहत सहयोग गरेका थिए । उनले स्थापना गरेको ‘हण्ड्रेड ग्रुप’ मार्फत् सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । मन्त्रिपरिषद्को अहिलेको संरचना हेर्दा महिला, आदिवासी, दलित तथा मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ ।