काठमाडौं - मेलम्चीका दुई वटा डेन्टल सञ्जालनमा रोक लगाइएको छ। मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक, पोलिक्लिनिक, क्लिनिकहरूमा गरिएको संयुक्त अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरि संचालित विभिन्न स्वास्थ्य संस्थाविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइले जानकारी दिए।
जनस्वास्थ्य ऐन २०७५ , जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१, प्रदेश स्वास्थ्य सेवा नियमावली (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड पालना नगरेमा कारबाही गरिने उनले बताए।
अनुगमन टोलीले मेलम्ची बजारमा रहेको इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि र जुगल डेन्टल क्लिनिकलाई पूर्ण रूपमा बन्द गरेको छ। दुवै संस्थाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल बन्द गरिएको बजगाइले बताए।
विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा संचालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
मेलम्ची पोलिक्लिनिक प्रा.लिले भने संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ । त्यस्तै मेलम्चीमा संचालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही शंकास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ।
अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानूनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तीव्रता दिने जनाएको छ ।


0 comment