काठमाडौं - सामाजिक सञ्जालमा भाइरल भएको पेस्तोल बोकेको व्यक्तिको भिडियो जेन–जी आन्दोलन को समयमा खिचिएको नभएको पुष्टि भएको छ। उक्त व्यक्ति टीओबी समूहका सदस्य तेन्जेन दावा हुन् । उनीबाट नक्कली पेस्तोल बरामद गरिएको छ।

भाइरल भिडियो करिब एक वर्ष पुरानो भएको र टिकटकमा ध्यानाकर्षण गर्न बनाइएको प्रहरीले जनाएको छ। भिडियोमा तेन्जेन बिजुलीबजारस्थित पुलमा टीओबी लेखिएको ज्याकेटमा चुरोट तान्दै कम्मरमा पेस्तोल भिरेको देखिन्छ।

प्रहरी अनुसन्धानमा तेन्जेनले आफूले देखाएको हतियार नक्कली भएको स्वीकार गरेका छन्। उनलाई टिकटकमा भाइरल बन्ने उद्देश्यले भिडियो बनाएको र आन्दोलनमा सहभागी हुँदा बाइक पड्काएर ध्यान खिच्न गएको बताएका छन्।

तेन्जेन ट्याटु आर्टिस्ट हुन् र हाल कपनको पैयुँटारमा बस्दै आएका छन्। उनका बाबु भारतीय सेनामा कार्यरत थिए। तेन्जेनले सुदन गुरुङ वा ‘हामी नेपाल एनजीओ’ सँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

प्रहरीले उनीमाथि हाल अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ। पेस्तोल र टीओबी समूहको भूमिका बारे थप अनुसन्धान जारी रहेको बताइएको छ।