काठमाडौं - स्वास्थ्य मन्त्रालयका सहसचिव डा. संगीता मिश्रले आफूलाई अन्याय भएको आरोप लगाउँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेकी छन्।

बुधबार मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि, डा. मिश्रले आफू सिनियर भएर पनि उपेक्षित बनाइएकोमा असन्तोष व्यक्त गरिन्। स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. मिश्रले आफूभन्दा जुनियरको मातहतमा रहेर काम नगर्ने बताइन् ।

उनका अनुसार, स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट हटाइएपछि, मन्त्री पौडेलले उनलाई कुनै महत्त्वपूर्ण जिम्मेवारी वा समितिमा राखेनन्। डा. मिश्रले आफ्नो कामको सही मूल्यांकन नगरी, मन्त्री पौडेलले आफूलाई महत्वपूर्ण स्थानमा राख्न चाहेनन् भन्दै गम्भीर असन्तोष व्यक्त गरिन्।

स्वास्थ्य सचिवका लागि तीन जनाको सिफारिस सूचीमा डा. मिश्रको नाम प्रमुख थियो, तर अन्तिम चयनमा उनलाई पछि पारियो। उनले स्वास्थ्य मन्त्री पौडेलको नैतिकता बारे प्रश्न उठाउँदै, मन्त्रीको राजीनामा मागिन्।