काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
घिसिङले बिहीबार जवाफ दिँदै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन्। ऊर्जामन्त्रालयले मंगलबार पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
कार्यकारी निर्देशक घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्नेसमेत अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको स्पष्टीकरणको जवाफ दिएका छन्।
‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु’ उनले स्पष्टीकरण पत्रमा भनेका छन्।
उनले बुझाएको स्पष्टीकरणको बुँदा नम्बर २ मा सिँचाइमन्त्री दीपक खड्काले स्पष्टीकरण सोध्नकै लागि भ्रमण आदेश स्वीकृत नगरिएको भन्ने स्पष्ट भएको उल्लेख गरेका छन् ।
घिसिङले ०८१ साउनदेखि फागुन १३ सम्म १४ पटक (मन्त्री खड्कासँगै ४ पटक आन्तरिक भ्रमणमा) र २ पटक भारत भ्रमणमा गएको उल्लेख गरेका छन् । उनले ऊर्जा मन्त्री खड्कासँगै ४ पटक आन्तरिक भ्रमणमा गएको पनि उल्लेख गरेका छन् ।उनले आफूलाई लगाइएका सबै आरोपहरू मनोगत भएको पनि स्पष्टीकरणको जवाफी पत्रमा भनेका छन्।


0 comment