काठमाडौं - नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले तनावको अवस्था सिर्जना भएको छ । 

झडपमा प्रहरी र स्थानीय गरी करिब २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ । सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपातको घटनाले यो अवस्था सिर्जना भएको हो ।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन्।

त्यसबेला देखिनै उनीहरूबीच द्वन्द्व बढेको हो । गाउँलेहरू नै दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएपछि तनावको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा घटनाको विषयमा छलफल भइरहेको छ । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रतिनिधिसभाको शून्य समयमा सांसद अमरेशकुमार सिंहले घटनाप्रति आपत्ति जनाउँदै थप झडप हुन नदिन सम्बन्धित निकायलाई सुझाएका छन् । उनले त्यहाँ दुई पक्षबीच साम्प्रदायिक झडपको स्थिति सिर्जना हुन नदिन स्थानीय प्रशासन चनाखो हुनुपर्ने बताए ।