काठमाडौं - ललितपुर महानगरपालिकाले सोमबार बिहान ऐतिहासिक सम्पदा न्हुँ पोखरीको संरक्षण र पुनर्निर्माणका लागि डोजर चलाएको छ।

ललितपुर-५ स्थित न्हुँ पोखरी क्षेत्रको संरक्षण र विस्तारका लागि अनधिकृत संरचनाहरू हटाइएको हो। यस क्रममा ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत भवनहरू भत्काइएका छन्।

ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले यस कार्यको उद्देश्य पोखरी क्षेत्रको ऐतिहासिक महत्व पुन: स्थापित गर्न र न्हु पोखरीको संरक्षण गर्नु रहेको बताए।

‘त्यहाँ एक ऐतिहासिक पोखरी छ, तर धेरैलाई यसको बारेमा थाहा छैन,उनले भने,‘त्यसलाई पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत संरचनाहरू हटाउन आवश्यक भएको हो।’

ललितपुर महानगरपालिकाले पोखरीको अगाडिका घरटहराहरू भत्काएर न्हु पोखरीलाई संरक्षित गर्ने प्रयासमा जुटेको छ।  महानगरपालिकाले डोजरको प्रयोग गरेर अनधिकृत संरचनाहरू हटाएको हो। 
अनधिकृत संरचना भत्काउँदा धुलो उडेर वातावरण प्रदूषण हुन नदिन डोजरसँगै पानीको फोहोरा प्रयोग गरिएको थियो ।