संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सेनाका सहायक रथी मानबहादुर महरा नयाँ डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनले उपरथी चोकबहादुर ढकालको स्थानमा जिम्मेवारी सम्हाल्न लागेका हुन्।
उपरथी चोकबहादुर ढकालले आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किन लागेको बेला प्रदर्शनकारीहरूले मध्यराति उनको गाडीमा आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले गाडीलाई रोक्दै ढकाललाई बाहिर निकालेर कुटपिट गरेका थिए, जसका कारण उनलाई टाउकोमा चोट लागेको थियो। त्यस क्रममा गाडीमा रहेका अन्य चार नेपाली शान्ति सैनिकहरू पनि सामान्य घाइते भएका थिए।
घटनापछि लेबनानी सेनाले ढकाललाई उद्दार गरी युएनको लेभल थ्री अस्पताल, बेरुतमा उपचारका लागि लगेको थियो। अस्पतालबाट आइतबार उनलाई डिस्चार्ज गरिएको छ। ढकाल अब स्वदेश फर्कने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
यस घटनापछि, लेबनानको सरकारी अधिकारीहरूले आक्रमणमा संलग्न कम्तिमा २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन्। हाल नेपाली सेनाका ५,९१८ सैनिक ११ विभिन्न मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका छन्।


0 comment