काठमाडौं- काठमाडौंको शंखरापुरमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

शंखरापुर नगरपालिका ५ मा बुधबार साँझ भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एकजनाको घटनास्थलमै र थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाबहिलस्थित एसएस एकेडेमीको बा.२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस मोडबाट पल्टिँदा दुर्घटना भएको हो ।

प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार मृतकहरूको विस्तृत विवरण भने खुलाइएको छैन ।

नगरकोटको पिकनिक खाएर फर्किंदै गरेको दुईवटा बसमध्ये एउटा दुर्घटनामा परेको हो । दुईवटा बसमा  विद्यार्थी, शिक्षक-शिक्षिका र कर्मचारी गरी ९२ जना यात्रारत थिए । घटनास्थलमा तत्काल प्रहरी र स्थानीय बासिन्दा पुगेर उद्धार गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

केही दिनअघि काठमाडौंको दक्षिणकाली नगरपालिका ३, भञ्ज्याङमा पनि स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।