काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ प्रारम्भ भएको छ । चार वर्षअघि दायर भएको रिटमा सर्वोच्चले सुनुवाइ अगाडि बढाएको हो।२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले पहिलोपटक रिट दायर गरेका थिए।

इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्। 

बुधबारको सुनुवाइमा  अभिवक्त ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरे । बहस नसकिएकाले बाँकी सुनुवाइ अर्को दिन हुने बताइएको छ । यद्यपि मिति भने तय भएको छैन।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका निकायमा ५२ जना पदाधिकारीहरू नियुक्त गरेको थियो ।

 संवैधानिक आयोगकका पदाधिकारीको कार्यकाल ६ वर्षको हुन्छ। उनीहरुले ४ वर्ष जागिर खाइसकेका छन् । अवधिको आधारमा उनीहरुको कार्यकाल २ वर्ष बाँकी छ । उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा निवेदन दर्ता भएका थिए ।