काठमाडौं - सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
शनिबार बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको नाइन एनएनजे कलसाइनको हेलिकोप्टर लोबुचेमा अवतरणको क्रममा हेलिप्याडमै अन्दाजी ७:२५ बजे दुर्घटना भएको हो। उक्त हेलिप्याड ४ हजार ९ सय मिटरको उचाईमा रहेको छ।
दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको थियो। हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ।
हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। घाइते सेढाईलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको थियो। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
हेलिकोप्टर के कारणले दुर्घटना भयो भन्ने बारे थप अनुसन्धानपछि मात्रै थाहा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
उक्त हेलिकोप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो।


0 comment