काठमाडौं – बर्तमान सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर रहेको नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने संकल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रूपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सांस्कृतिक क्षेत्र मानिसलाई भावनात्मकरूपले सांस्कृतिकरुपले राष्ट्रलाई एकताबद्धरुपमा उत्प्रेरित गर्ने क्षेत्र भएको उनको भनाइ छ ।
खेलकुद, साहित्य, कला क्षेत्र र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम भएको हुँदा यिनीहरुका माध्यमबाट सिंगो देशलाई एकताबद्ध गर्न सकिने उनले बताए् ।
सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरेका छन् । यस्ता कार्यक्रमले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई उत्प्रेरित प्रदान गर्ने र देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवर्द्धन गर्न तथा सामाजिक हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु, प्रचण्डले भने ।

0 comment