सिन्धुपाल्चोक - जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ५ बगाले गाउँमा भर्खरै निर्माण सम्पन्न भएको बलेफी गाउँपालिकाको कार्यालय भवन बिशाल छ। नेतृत्वले भन्ने गरे झैँ सिंहदरवार गाउँ-गाउँमा त्यसै भनेको होइन रहेछ।
बलेफी बजारबाट १ किलोमिटर दुरिमा रहेको गाउँपालिका भवन भव्य छ। तर त्यहाँ जाने मोटर बाटोको करिब ५०० सय मिटर जति सडक खण्ड वर्षौंदेखि बन्न सकेको छैन। गाउँपालिकाको भवन तयार त भयो, तर बाटो सुधार हुन सकेको छैन।
संघिय गणतन्त्रको बिकास भनेकै गाउँ-गाउँमा ५० औँ करोड खर्चेर आवश्यकता भन्दा भव्य भवन बन्नु हो। मानौँ, त्यहि भवनले देशलाई कायापलट गर्छ। देश बिकसित हुने माध्यम त्यस्तै भवन बन्नु हो। स्कुल बन्नु होइन, अस्पताल बन्नु होइन। गाउँका शिक्षित युवायुवतीहरुलाई रोजगार दिनु पनि होइन।
पालिकाको ठुला भवन, निर्वाचितहरुलाई करोडौँको गाडी, तलब-भत्ता, सुविधा। त्यतिकैमा बजेट सकिन्छ, त्यो पनि विश्व बैंक, एसियाली बिकास बैंक र अरु बिदेशी निकायहरुबाट ऋण लिएको पैसा छ। वाह रे गणतन्त्र! तेरो मुख कत्ति कालो ?
सुबिधा खाने निर्वाचितसँग जनताको समस्या सुन्ने फुर्सद छैन। बलेफी बजारदेखि भदौरे हुँदै फलाटेसम्मको बाटो वर्षौंदेखि जनता जोखिम मोलेर हिँड्न बाध्य छन्। भदौरे बागाले गाउँका मानिसहरु बिरामी भएमा एम्बुलेन्ससम्म जान नस्कने अवस्था छ । बल्लतल्ल गई हाल्यो भन्ने फर्कन गारो छ। वर्षौंदेखिको समस्या यहि हो ।
युवायुवतीहरु श्रम बेच्न विदेशीन बाध्य छन्। त्यसैको परिणाम इजरायलमा दर्जनौँ युवा भविष्यको सुन्दर सपना बुन्दै मर्न बाध्य भए। मलेसिया र अरबबाट दिनहुँ दर्जनौँ लाश आउँछन्। देशमा रोजगार खोलौँ, रोजगार सृजना गरौँ भन्ने छैन। पालिकाको वडाको ठुला भवन निर्माण मै पैसा सिद्धिन्छ। देश गरिब बन्दै छ। जन्मँदै ८० हजारभन्दा बढी ऋण बोक्न बाध्य छन् जनता। तर बजेट यस्तै अनुत्पादनमूलक काममा सकिन्छ। स्कुल बनाउन, अस्पताल बनाउन कसैलाई ध्यान छैन। रोजगारी सृजना गर्न कसैलाई चासो छैन। तर वडा, भवन पालिका भवन देशैभरी बन्दै छ।
यो राम्रो होइन। यस्ता गतिविधि रोक्न अब आम जनताहरु र शिक्षित युवायुवतीहरु नै जाग्न पर्छ। नत्र देश डुब्न लागिसक्यो। देश डुब्नबाट जोगाउन यस्ता कथित सिंहदरवारवाला निर्वाचितहरुलाई खबरदारीगर्नु पर्छ। त्यस्तै परे लखेट्नु पर्ने हुन्छ। त्यतातिर पो ध्यान दिने कि ?


0 comment