दिपक श्रेष्ठ,

काठमाण्डौ - वैदेशिक रोजगारीको लागि नेपालबाट खाडी क्षेत्र, मलेशिया वा कोरिया जस्ता मुलुकमा जाने नागरिकको निधन भयो भने सरकार र विभिन्न स्रोतबाट पन्ध्रलाख रुपैयाँसम्म सहानुभूति रकम (ब्लड मनी) प्रदान गर्नुलाई न्यायोचित मान्नुपर्छ । तर न्यायको यही धरातलबाट हेर्दा भारतमा श्रमको लागि जाने नेपाली नागरिकको कामको सिलसिलामा मृत्यु भयो भने राज्य वा कुनै संस्थागत स्रोतबाट ब्लड मनी दिने वा न्यायोचित परिपूरण गर्ने व्यवस्था आजसम्म किन गरिएन ? रोजगारीको लागि विदेशिएका आफ्ना नागरिकलाई गएको देश हेरी सहानुभूति रकम दिने/नदिने भेदभावकारी असमान ब्यवहार अपनाउनु नै घोर अन्यायको प्रमाण हो ।

राज्यका लागि आफ्ना नागरिकहरू समान हुनुपर्ने संविधानको अक्षर र भावना अनुरुप जुन देशमा गए पनि कामको सिलसिलामा भएको मृत्युमा राज्यको भेदभाव रहित र समान दायित्व तथा जिम्मेवारी हुनुपर्छ । नेपाली नागरिकको आर्थिक र मानवीय स्तरका साथै श्रमको किसिमलाई दाँजेर हेर्दा भारतमा काम गर्ने नेपालीहरू त झन् प्राथमिकता क्रमको अगाडि हुनुपर्ने हो । यी नेपाली श्रमिकहरूले भारतबाट नेपालमा प्रतिवर्ष गर्ने विप्रेषण (रेमाटान्स) को योगदान अन्य देशाबाट आउने विप्रेषणभन्दा कुनै दृष्टिकोणले पनि गौण छैन भने राज्यले गनुपर्ने न्यायोचित ब्यवहारमा चैं भेदभाव र पक्षपातको ब्यवहार किन ? यसबारेमा सरकार अनिवार्य रुपले जवाफदेही हुनुपर्छ ।

भारतबाट नेपालमा रोजगारीको सिलसिलामा आएका भारतीय कामदारप्रति भारत सरकारले पनि त्यस्तै न्यायविहिन रवैया अपनाएको देखिन्छ । यस्तो अन्यायको विरुद्ध पीडितको पक्षमा मानवताको नाताले न्यायको आवाज उठाउनु जरुरी हुन्छ । त्यसकारण नेपालबाट कामको लागि भारतमा गएका र भारतबाट नेपालमा आएका भारतीय कामदारहरूको लागि कामको अवधिमा हुने जीवनको क्षतिवापत दुवै देशका सरकारहरूबाट अनिवार्य रुपमा न्यायोचित परिपूरणको व्यवस्था गरियोस् भन्ने हामी नेपाली नागरिक चाहन्छौं । यस मामिलामा हामी राज्यबाट भईरहेका न्यायविहिन र गैरजिम्मेवारपूर्ण रवैयाबाट पीडित भईरहेका दुवै देशका कामदारहरूको न्यायको पक्षमा छौं ।