काठमाडौं – नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, कोशी अस्पतालका पूर्वमेसु ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण रहेको प्रहरीले जानकारी दिएको छ । साथै कर्णविरुद्ध संगठित अपराध, व्यक्ति वेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउने राय दिएको छ । त्यसका लागि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई रायसहित प्रतिवेदन समेत बुझाएको छ ।
प्रहरीले झण्डै ५० दिन अनुसन्धान पुरा गरेर मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । उनका अनुसार, अब सरकारी वकील कार्यालयले अभियोजन तयारी गरेर जिल्ला अदालतमा अभियोग दर्ता गर्ने छ । सोमबार जिल्ला अदालतमा अभियोग दर्ता गर्ने तयारी छ ।
कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।
त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानमा खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । अहिले उनीहरु सबै प्रहरीको हिरासतमा छन् ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।
डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट थिए । उनी पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले शंका गरेको थियो । एमबीबीएस एमडीजीपी गरेका डा.कर्णले आफ्नो क्लिनिकवाट गर्भवती महिलालाई विभिन्न निजी अस्पतालमा पु¥याएर सुत्केरी गराउने अनि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको पाइएको प्रहरीको भनाइ छ ।


0 comment