काठमाडौं – विराटनगरमा कार र मोटरसाइकल एक आपसमा ठोकिंदा विमानस्थलको सुरक्षामा खटिएका सेनाका दुई हवल्दार गम्भीर घाइते भएका छन् । 

यसरी गम्भीर घाईते हुनेमा, मोटरसाइकलमा सवार नेपाली सेनाका हवल्दारहरु बर्दिया बासगढी नगरपालिका–१ घर भएका अन्दाजी ४० वर्षीय भरत विष्ट र दार्चुलाको सिप्टी गाउँपालिका–२ घर भएका अन्दाजी ३९ वर्षीय मानसिंह थकुवा घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । 

दाहालका अनुसार, कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकस्थित सडक किनारमा रोकेर राखिएको बा १२ प १३०४ नम्बरको कारमा को ३५ प ५०६० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । 

विष्ट मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । विष्ट र थकुवा विमानस्थल सुरक्षा गार्ड विराटनगरमा कार्यरत नेपाली सेनाका हवल्दार हुन् । 
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटना भएलगत्तै प्रहरीले कार र चालक विराटनगर–७ का राघव राठीलाई नियन्त्रणमा लिई यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।