काठमाडौंं – आफ्नै श्रीमानको हत्या गराएको आरोपमा पक्राउ परेकी भारत मोतिहारी जिल्ला, दर्पा थाना१, सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई प्रहरीले सार्वजनिक गरेको छ ।
असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजित कुमार सिंहको गोली हानेर हत्या गरिएको थियो । सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हत्यामा सलंग्न अन्य पांच जना फरार रहेका छन् । भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, सोही ठाउँ निवासी वर्ष २४ को चन्चल पाण्डे, वर्ष २२ को मनिष कुमार सहनी, वर्ष २० को कामेश्वर सहनी र वर्ष २० को रञ्जीत मुखिया फरार रहेको प्रहरीले जनाएको छ ।
अजितकी श्रीमति सोनम कै योजनामा सुजित कुमार सिंह समेतको संलग्नतामा उनको हत्या भएको प्रहरीले जनाएको छ । सुजित र आफ्नो विच अवैध सम्वन्ध रहदै आएको प्रहरी समक्ष सोनमले बताएकी छन् ।
विवाह पछि पनि सोनमसँग रहदै आएको अवैध सम्बन्ध र आर्थिक लेनदेनका कारण सुजितले अजितको हत्या गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिनु भयो । भारत मोतिहारी माइती भएकी सोनम सहनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।
घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजित पछाडि बसेर आएका हुन् । लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली प्रहार गरेका थिए ।
अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट खुलेको छ ।
सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
हत्यापछि सुजितले बाराको सिम्रौनगढ स्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका हुन् ।
मृतक र सुटर एउटै समूहका हुन् । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडी बढ्न खोजेपछि उनको हत्या गरिएको थाहा भएको छ । सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सुजितको समूहले बारामा एकबर्ष अघि एकजनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


0 comment