काठमाडौं – दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको स्वयम्भूमा बस्दै आएका ६६ वर्षका चिनियाँ नागरिक तासी दावा भनिने आगर लामा रहेका छन् । चिनबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो । 

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।

दोलखा हुँदै सुन काठमाडौँ ल्याउने तस्करहरूको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।