काठमाडौँ – चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक जित्ने पक्का भएको छ। बुधबार समूह ‘बी’को अन्तिम लिग खेलमा इरानले बंगलादेशलाई ५४—१६ अङ्कले हराएसँगै नेपालले कास्य पदक पक्का गरेको हो। एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । 

सेमिफाइनलमा पराजित भए पनि नेपालको हातमा कम्तीमा कांस्य पदक पर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुबै टोलीलाई कांस्य पदक प्रदान गर्ने प्रावधान रहेको छ । एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो । बङ्गलादेश भने समूहगत चरणबाटै बाहिरिएको छ ।

यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा गत सोमबार नेपालले बङ्गलादेशलाई ३७—२४ अङ्कले हराएको थियो । मंगलबार खेलिएको समूहगत चरणको दोस्रो खेलमा इरानले नेपाललाई ४३—१९ अङ्कको फराकिलो अन्तरले हराएको थियो । 

एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात राष्ट्रले सहभागिता जनाएका छन् । प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको भने टुङ्गो लागिसकेको छैन ।