काठमाडौं – बझाङ जिल्लाको आसपास केन्द्रविन्दु भई लगभग १२ बटा भुकम्प गएका छन् । भूकम्पबाट बझा«ङमा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।
भूकम्पबाट घाइते भएका मध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।
प्रहरी निरीक्षक चौधरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ भने चैनपुरमा मात्रै लगभग २० घर भत्किएको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बझाङमा दिउँसो २ः४० मा तल्कोट केन्द्रबिन्दु भएको ८ सेकेन्डको कम्पन्नपछि स्थानीयहरुमा हल्लखिल्ली मच्चिएको थियो । त्यतिबेला नै सबै मानिसहरु घर बाहिर निस्कि सकेका थिए । ३ः०६ मा पुन बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको ठूलै भुइँचालो आएको थियो । उक्त भुइँचालोले स्थानीयका घर, स्कुल, सामुदायिक भवनलगायतका भौतिक संरचनामा क्षति पु¥याएको थियो। बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र रहेकाले सदरमुकाममा ठूलै झट्का महसुस भयो।
केही क्षणमै पुनः मस्टा गाउँपालिकाको भातेखोला आसपास केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गयो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार त्यसयता १२ वटा पराकम्पन गएका छन्।
भूकम्पका कारण जिल्लाका विभिन्न पालिकाकामा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। भूकम्पको केन्द्र बिन्दु बझाङ भएका कारण बझाङसँग सीमा जोडिएका बुढीगंगा, खप्तड, छेडेदह, गौमुल गाउँपालिकामा बढी क्षति भएको हो। भुइँचालेको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए। सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश मान्छे घर छोडेर त्रिपालमा बास बसिरहेका छन्। एक वर्षयता सुदूरपश्चिममा साना ठूला गरी दर्जनौं भूकम्पका धक्का महसुस गरिएका छन्।


0 comment