काठमाडौँ – वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति गराई जापान पठाउने १४ मेनपावर कम्पनीको लाईसेन्स निलम्बन गरेको छ । केहि महिना अगाडि विभागमा उजुरी परेको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ती मेनपावरको संलग्नता देखिएको भन्दै वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेर थप अनुसन्धान थालेको हो ।
२०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शंकास्पद कागजात पेश गरेको पाइएको छ । निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् । जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेश गरेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।
जापानमा कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए । यो विषयमा विभागमा उजुरी परेपछि विभागका निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको हो ।



0 comment