काठमाडौं - सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि १० दिनदेखि आन्दोलनरत शिक्षकहरू नियमित पठनपाठनमा फर्कने भएका छन् ।

संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामाथि असन्तुष्टि जनाउँदै आन्दोलित शिक्षकका माग विधेयकमा संशोधन र सहजीकरणका लागि शिक्षा मन्त्रालयले प्रतिबद्धता जनाएको हो । शिक्षामन्त्री अशोक राईले शिक्षक महासंघ र सरकारबीच असोज ५ मा भएको सम्झौताको पूरक सम्झौताका रूपमा राहत शिक्षकसँग सहमति भएको बताए । सहमति पालना गर्न सरकारले संसद्मा लबिइङ गर्ने उनले जनाए । असोज ३ देखि महासंघको अगुवाइमा देशभरका शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन चर्काएका थिए । सरकार र महासंघबीच सहमति भए पनि राहत शिक्षकले भने आन्दोलनलाई निरन्तरता दिइरहेका थिए ।

शतप्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको राहत शिक्षक महासंघका अध्यक्ष खेमराज अधिकारीले जनाए । सहमतिमा भने मागलाई संसद्मा छलफलका लागि प्रवेश गराउने उल्लेख छ । देशभर ४४ हजार राहत शिक्षक छन् । विधेयकले राहत कोटालाई स्वतः दरबन्दीमा परिणत गर्ने व्यवस्था गरेको छ । तीमध्ये ५० प्रतिशतलाई आन्तरिक प्रक्रियाबाट स्थायी गरिने विधेयकमा उल्लेख छ । महासंघसँग सरकारले ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन विधेयकमा संशोधन गराउन प्रयास गर्ने सहमति गरेको थियो । प्रतिस्पर्धा गर्दा उमेरहद लागू नहुने र परीक्षामा अनुत्तीर्ण भए आर्थिक सुविधासहित बिदा गरिने सहमति पनि भएको छ । स्थायी हुँदा अस्थायी अवधि गणना गरिने भएको छ । विधेयकमा उमेरहद लागू नहुने र आर्थिक सुविधा पाउने उल्लेख छ । तर आर्थिक सुविधाको मापदण्डबारे त्यसमा स्पष्ट व्यवस्था गरिएको छैन ।

राहत शिक्षक, प्रारम्भिक बालविकास सहयोगी, विद्यालय कर्मचारी, साविक उच्च माध्यमिकतर्फका शिक्षकको स्थायित्व, सेवासुविधा, वृद्धि, बालविकासलाई विद्यालय शिक्षामा समावेश गर्ने विषयलाई संसदीय प्रक्रियाको छलफलमा प्रवेश गराउने सहमतिमा उल्लेख छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा केन्द्रित विरोध कार्यक्रम शुक्रबारबाटै अन्त्य गर्ने भनिएको छ । विद्यालयमा अध्ययन अध्यापनलाई नियमन गरी पठनपाठन सञ्चालन गर्न शिक्षकहरूले सहमति जनाएका छन् । सहमतिमा शिक्षामन्त्री राई, राहत शिक्षक अध्यक्ष अधिकारी, महासंघ अध्यक्ष कमला तुलाधारलगायत प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रारम्भिक बालविकासका शिक्षकलाई कायम दरबन्दीअनुसार आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिने उल्लेख छ । प्रारम्भिक बालबिकासमा कार्यरतलाई शिक्षकको दर्जा दिई प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकसरहको तलब तोकिनुपर्ने माग शिक्षकहरूले राख्दै आएका थिए । विद्यालयको आन्तरिक स्रोतबाट तलब प्राप्त गर्ने कार्यालय सहायक, पुस्तकालयकर्मी, ल्याब सहायक, कार्यालय सहयोगी, सुरक्षा सहयोगी, मालीलगायत कर्मचारीलाई पनि दरबन्दी कायम गर्न माग राखिएको थियो । शिक्षक, कर्मचारी र ईसीडी शिक्षकका विषयमा शिक्षा मन्त्रालयले समन्वय र विधेयक संशोधन गर्न सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।

महासंघसँग गृहमन्त्री नाराणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता भएको थियो । त्यतिबेला शिक्षकको मर्यादा कायम गर्ने, विधेयक संशोधन गर्न सहजीकरण गर्ने, शिक्षकलाई विभागीय कारबाहीको प्रस्तावित व्यवस्था पुनरावलोकन गरिने, शिक्षक सरुवा व्यवस्थापन समितिको सहमति गर्ने, विद्यालय व्यवस्थापन समिति अभिभावक मात्र रहने, कार्यसम्पादन मूल्यांकन प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबाट गर्ने, सेवा प्रवेशको उमेर ४० वर्ष तोक्ने, दुर्गम महंगी भत्ता दिने, आवधिक बढुवाको व्यवस्था गर्ने, ईसीडी शिक्षक कर्मचारीको न्यूनतम पारिश्रमिक तोक्ने र सुरक्षा कोषमा आबद्ध गर्ने सहमति भएको थियो ।

सहमति कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षकको मर्यादाक्रम कायम गर्न गृह र सेवासुविधाका लागि अर्थलाई पत्राचार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूले विधेयकको व्यवस्थाअनुसार स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूको कतिपय माग सेवासुविधा र शिक्षक हकहितसँग पनि सम्बन्धित छ । संविधानले नै माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा रहने व्यवस्था गरेकाले शिक्षकको माग र सरकारले गरेको सहमति संविधानविपरीत रहेको शिक्षाविद्हरूले टिप्पणी गर्दै आएका छन् । शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने मागप्रति पनि आलोचना भएको छ ।