काठमाडौं - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माविको होस्टेलमा एक बालक मृत अवस्थामा फेला परेका छन्।
कक्षा २ मा अध्यनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ स्थायी घर भएका ८ वर्षका सलाम पुलामी मगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था शुक्रबार साँझ मृत फेला परेका हुन्।
बालक संकास्पद रुपमा बेडमै झुण्डिएको अवस्थामा फेला परेको भन्दै शव आफन्तहरुले उठाउन दिएका छैनन्। पढाउनका लागि होस्टेलमा राखेको बालकलाई कसैले मारेर बेडमा झुण्ड्याएको भन्दै आफन्तले विद्यालयमा आगजानी गरेका छन्। विद्यालयमा रहेका फर्निचरहरु जम्मा पारेर विद्यालयभित्र आगजानी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्रसिंह थापाले बताए।
घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ। आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।


0 comment