काठमाडौं – उच्च अदालत पाटनले पूर्वअरनिको यातायातले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालन गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म बसपार्क तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्न महानगरलाई भनेको हो।

काठमाडौं महानगरपालिकाले काठमाडौंबाट छुट्ने सबै सार्वजनिक गाडीहरु नयाँ बसपार्कबाट चल्नुपर्ने व्यवस्था गरे पनि पूर्वअरनिको यातायात प्रालीले महानगरको सो निर्णय नमान्ने भन्दै जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क संचालन गरेको हो । यसलाई नै महानगरपालिकाले बसपार्कको मान्यता दिनुपर्ने माग गर्दै पूर्वअरनिको यातायाताले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। रिटमाथि निवेदकका तर्फबाट अधिवक्ता राजेश्वर अधिकारी र प्राणनाथ न्यौपानेले बहस गरेका थिए।  उच्चले छलफलका लागि दुवै पक्षलाई असोज २१ गतेका लागि बोलाएको छ।
 
पूर्वअरनिको यातायाताले जडिबुटीमा सञ्चालन गरेको बसपार्क भत्काउनुको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम परमादेश जारी गरेको हो।