काठमाडौं – नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नयाँ नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान शुरु गरेको छ। प्रदेश अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानका लागि प्रयोग गरेको छ । १२ गते शुक्रबार साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको थियो। 

बागमती प्रदेश अध्यक्ष पदका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरुले फिर्ता लिए पछि दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उमेदवाररहेका छन् ।

त्यसैगरी ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित, उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम रहेको प्रतिनिधिहरुले बताएका छन् । खुलातर्फ भने उपसचिवमा सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।

१ अध्यक्ष, १ उपाध्यक्ष, सचिव १ र २ उपसचिव पदाधिकारी र २४० सदस्य जनाको नयाँ कमिटीका लागि निर्वाचन भएको छ भने चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् ।