काठमाडौं - लगानी बोर्ड नेपाल र मलेसियन कम्पनी रिनिकोलाबीच रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोलाका महानिर्देशक बौम्हिदी अब्देलालनिबी हस्ताक्षर भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार रिनिकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्ने भनिएको छ।
रिनिकोलाले २०७९ पुस २४ गते पेस गरेको प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो।
साथै, प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०८० भदौ ८ मा सम्पन्न लगानी बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो। समझदारीपत्रको प्रावधानबमोजिम प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ।
तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी ग्रिन एमोनिया र ग्रिन क्याल्सियम अमुनियम नाइट्रेट मल तयार पार्ने अवधारणा राखेको छ। करिब २६० मिलियन अमेरिकी डलर (३४ अर्ब ३२ करोड रुपैयाँ) अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६ सय टन ग्रिन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ टन ग्रिन क्याल्सियम अमुनियम नाइट्रेट मल उत्पादन हुने प्रस्ताव गरिएको छ।


0 comment