काठमाडौं - जाजरकोटस्थित नलगाड नगरपालिका -११ मा पर्ने एउटा सडक निर्माण गरी उपभोक्ता समितिले दोहोरो भुक्तानी लिएको पाइएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी नलगाड नगरपालिका -११ स्थित उखाले-तल्लु-हितानगाँउ सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट गरी दुई कार्यालयबाट दोहोरो भुक्तानी लिइएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकूल हुने गरी नेकपा माओवादी केन्द्रका नलगाड नगर इन्चार्ज गणेश सिंहले एउटै उपभोक्तासमितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिइएको पाइएको छ ।
कर्णाली प्रदेश सरकारबाट स्थानीय तहमार्फत् उपलब्ध गराएको रकम र पूर्वाधार विकास कार्यालय जाजरकोटबाट समेत सोही सडकमा डुप्लिकेशन गरेर रकम भुक्तानी लिएको खुलेको छ। उपभोक्ता समिति र कामदारले रकम नपाएपछि पेटी ठेकेदार र उपभोक्ता समितिको बद्मासी बाहिरिएको हो । नलगाड नगरपालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी लिइएको छ।
नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् । यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भइसकेको छ ।
एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन स्थलगत अध्ययनका लागि कार्यालयका इन्जिनियर शंकर कुँवरलाई पठाइएको पूर्वाधार विकास कार्यालय जाजरकोटले जनाएको छ।

0 comment