काठमाडौं –  यसवर्ष नेपाल राष्ट्र बैंकले दसैँतिहार लक्षित घटस्थापनाको आसपास पारेर नयाँ नोट सतहीको व्यवस्था गरेको छ । असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डी नयाँ नोट सर्बसाधारणले साट्न पाउने छन् । 

काठमाडौं सहित देशका सात वटै प्रदेशहरुमा राष्ट्र बैंकको शाखा कार्यालयहरूबाट सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने छ । सर्बसाधारणहरुले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिए ।

‘दसैँतिहारका लागि कति नयाँ नोट चाहिन्छ अहिले नै यकिन भएको छैन । मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने छ । 

सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।